पर्यटन प्रवर्द्धनमा गोरखा र लमजुङका पालिकाको पहल

गोरखा | पुस ६, २०८२

पर्यटन प्रवर्द्धनमा गोरखा र लमजुङका पालिकाको पहल

गोरखा:   गोरखा र लमजुङ जोड्ने बुद्ध हिमाल–हिमालचुली ग्रेट लेक सर्किट ट्रेलको विकासका लागि दुई जिल्लाका पाँच पालिका जुटेका छन् ।


सो ट्रेलअन्तर्गत पर्ने गोरखाको बारपाक सुलिकोट र अजिरकोट गाउँपालिका तथा लमजुङका दोर्दी, दूधपोखरी र मर्स्याङ्दी गाउँपालिका संयुक्त रूपमा पदमार्गमा आधारित पर्यटन विकास, प्रवर्द्धनमा जुटेका हुन् ।


सो पदमार्गमा जोडिने पाँच वटा पालिकाले पर्यटन पदमार्गको दिगो विकास योजना बनाउन, पदमार्गलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा चिरपरिचित गराउन, पर्यटन पूर्वाधार निर्माण गर्न अघि बढ्ने प्रतिबद्धता गरेका छन् ।


ती पालिकालाई नेपाल पर्यटन बोर्ड, संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी)अन्तर्गतको दिगो पर्यटन परियोजना (एसटिपी) तथा ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टान)ले एकजुट गराएको छ । गत बिहीबार, शुक्रबार र शनिबार तीनदिने गोष्ठीमा सहभागी गराई सम्बन्धित पालिकालाई पर्यटन विकासमा जाग्न प्रोत्साहित गरेको हो ।


बुद्ध हिमाल–हिमालचुली ग्रेट लेक सर्किट ट्रेलले बुद्ध हिमाल, हिमचुली, मनासिरी हिमशृङ्खला तथा उच्च हिमताललाई समेट्दै नयाँ अन्तर्राष्ट्रिय ट्रेकिङ गन्तव्यको विकास गर्ने विश्वास गरिएको छ । 


यसबाट स्थानीय समुदायमा आधारित दिगो पर्यटन प्रवर्द्धन गर्ने विश्वास त्यहाँका स्थानीय पालिकाहरूको छ । साथै यस क्षेत्रलाई पर्यटन हबका रूपमा विकास गर्ने, पुराना पदमार्ग, गोठालो बाटो र सांस्कृतिक रुटको पहिचान, ट्रेल सुधार, पुल, सिँढी, सुरक्षित बाटो निर्माण, फोहर व्यवस्थापन, खानेपानी, भरियाघर निर्माण, हिमताल, पास तथा जोखिमयुक्त क्षेत्रको सुरक्षा योजना तयार गर्ने लक्ष्य गोष्ठीले राखेको छ ।


भच्चेकमा शनिबार सम्पन्न गोष्ठीमा बुद्ध हिमाल–हिमालचुली ग्रेट लेक सर्किट ट्रेललाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा प्रचारप्रसार गर्न सो सर्किट सञ्चालनमा ल्याउन कार्ययोजना बनाउनेबारे तीनदिने गोष्ठी तथा तालिम सञ्चालन भएको अजिरकोट गाउँपालिकाका उपाध्यक्ष अनिता भुजेलले बताइन् । तालिममा पाँचैवटा गाउँपालिकाका उपप्रमुख तथा सम्बन्धित शाखाका प्रमुखले सहभागिता जनाएको उनले जानकारी दिइन् ।


तालिममा टानका केन्द्रीय अध्यक्ष सागर पाण्डे, केन्द्रीय सदस्य राजेन्द्र अम्गाईँ, केन्द्रीय सदस्य तथा तालिम विभागका सहसंयोजक अम्बिरबहादुर गुरुङ, टानका निवर्तमान उपाध्यक्ष तथा अजिरकोट गाउँपालिकाका पर्यटन सदभावना दूत धनबहादुर गुरुङ, केन्द्रीय सदस्य पवित्रा तामाङ, परियोजनाका संयोजक युवराज लामा, प्रमुख प्रशिक्षक डा चेतनाथ कँडेल, प्रशिक्षक कृष्ण गौतमलगायत सहभागी थिए ।

पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ ।   मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...

थप पढ्नुहोस्

पोखरा ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।   प्रेस रजिस्ट्रारको का...

थप पढ्नुहोस्

पोखरा ।    पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् ।   जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

थप पढ्नुहोस्